क्याम्पस सभा तथा सातौ अधिवेशन  २०८३
5/25/2026

क्याम्पस सभा तथा सातौ अधिवेशन २०८३

 

प्रा. बिरञ्जी गौतम

पोखरा महानगरपालिका–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसले पछिल्ला तीन वर्षमा शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । क्याम्पसले क्यु ए ए प्रमाणपत्र प्राप्त गर्नु, नयाँ भवन निर्माण, अनुसन्धान केन्द्र स्थापना तथा बजारमुखी कार्यक्रम विस्तारलाई पछिल्लो कार्यकालका प्रमुख उपलब्धि हुन् ।

कालिका बहुमुखी क्याम्पसको सातौँ अधिवेशनमा उपस्थित सबैप्रति मेरो हार्दिक सम्मान छ । यो अवसरमा क्याम्पस स्थापना र विकासका लागि योगदान गर्ने सम्पूर्ण व्यक्तित्वलाई स्मरण गर्न चाहन्छु । संस्थापक अध्यक्ष स्वर्गीय सूर्यबहादुर केसी, उपाध्यक्ष स्वर्गीय सन्तबहादुर गुरुङ, संस्थापक क्याम्पस प्रमुख स्वर्गीय बलवीरसिंह नेगी, संस्थापक प्राध्यापक सूर्यरत्न शाक्य, रविलाल अधिकारी, क्याम्पसका अभिभावक स्वर्गीय लक्ष्मण कार्कीलगायत दिवंगत व्यक्तित्वप्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

Advertisement

विसं २०७८ चैत ४ गते वर्तमान सञ्चालक समिति गठन भएपछि क्याम्पसले नयाँ गति लिएको हो । यो अवधिमा हामीले शैक्षिक, भौतिक र संस्थागत विकासका धेरै काम गर्यौं । ती काम सम्भव हुनुमा सञ्चालक समिति, संरक्षक, सिनेटर, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक र शुभेच्छुक सबैको साथ रह्यो । यही सहकार्य हाम्रो शक्ति बन्यो ।

हाम्रो सबैभन्दा ठूलो उपलब्धि क्यु ए ए प्रमाणपत्र प्राप्त गर्नु हो । यो प्रमाणपत्रले क्याम्पसलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ । गुणस्तरीय शिक्षाप्रति हाम्रो प्रतिबद्धतालाई प्रमाणित गरेको छ । विश्वविद्यालय अनुदान आयोगअन्तर्गतको क्यु ए ए सीले तोकेका आधार पूरा गर्न हामीले लामो तयारी गर्यौं । स्वअध्ययन प्रतिवेदन तयार गर्यौं । विभिन्न अनुसूची र कागजात बनायौं । विश्वविद्यालय अनुदान आयोगमा बुझायौं । त्यसपछि एचआरटी टोलीले दुई चरणमा स्थलगत अध्ययन गर्यो । सञ्चालक समिति, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, रोजगारदाता संस्था र उपसमितिसँग छुट्टाछुट्टै छलफल भयो । केही सुझावसहित हामीलाई योग्य क्याम्पसका रूपमा सिफारिस गरियो । अन्ततः विसं २०८१ असार ३ गते हामीले क्यु ए ए प्रमाणपत्र प्राप्त गर्यौं ।

Advertisement

यो यात्रामा वर्तमान सञ्चालक समितिको भूमिका अत्यन्त महत्वपूर्ण रह्यो । क्याम्पस विधान बनाउने काम भयो । रणनीतिक योजना निर्माण गरियो । कार्यविधि तयार गरियो । ती सबैलाई क्याम्पस सभाले सर्वसम्मत अनुमोदन गर्यो । यसले संस्थागत सुशासनलाई बलियो बनायो ।

त्रिभुवन विश्वविद्यालयबाट हाम्रो विधान स्वीकृत भयो । क्याम्पसले गैरनाफामूलक सामुदायिक क्याम्पसको प्रमाणपत्र प्राप्त गर्यो । यसले विद्यार्थीलाई प्रत्यक्ष फाइदा पुगेको छ । सामुदायिक क्याम्पसले पाउने सुविधा अब विद्यार्थीले पनि पाएका छन् ।

पछिल्ला तीन वर्षमा विश्वविद्यालय अनुदान आयोगबाट १ करोड ८९ लाख १ हजार २ सय ६४ रुपैयाँ ६७ पैसा अनुदान प्राप्त गर्न सफल भयौं । यो रकम नियमित कार्यक्रम, भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारमा प्रयोग भइरहेको छ । गण्डकी प्रदेश सरकारबाट १० लाख रुपैयाँ बराबरको फर्निचर सहयोग प्राप्त भयो । पोखरा महानगरपालिका वडा नम्बर १४ ले गेट निर्माण र कार्यालय सामग्री खरिदका लागि १२ लाख रुपैयाँ सहयोग गर्यो ।

क्याम्पसको भौतिक विकासमा पनि ठूलो प्रगति भएको छ । संस्थापक अध्यक्ष स्वर्गीय सूर्यबहादुर केसी परिवारको सहयोगमा ३ करोड २६ लाख २८ हजार ५ सय २० रुपैयाँ लागतमा नयाँ भवन निर्माण भयो । विसं २०८२ पुस १२ गते त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राडा महानन्द चालिसे र सूर्य प्रेम ट्रस्टका अध्यक्ष प्रेमकुमारी केसीले भवन उद्घाटन गरे । स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा निर्माण गरिएको शालिकको अनावरण पनि यही अवधिमा भयो ।

हामीले अनुसन्धान संस्कृतिलाई पनि प्राथमिकता दिएका छौं । त्यसकै लागि कालिका अनुसन्धान केन्द्र स्थापना गरियो । यो केन्द्रले अनुसन्धानमूलक जर्नल प्रकाशित गरिरहेको छ । मिनी रिसर्च सञ्चालन गरिरहेको छ । अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिरहेको छ । आविष्कार केन्द्र स्थापना गरेर स्थानीय उद्यमीसँग सहकार्य थालेको छ । विभिन्न तालिम सञ्चालन भएका छन् । यसका लागि अमेरिकी दूतावासबाट करिब १३ लाख ६३ हजार २ सय ५० रुपैयाँ सहयोग प्राप्त भयो ।

आजको शिक्षाले केवल प्रमाणपत्र मात्र दिनु हुँदैन भन्ने हाम्रो मान्यता छ । त्यसैले हामीले सिपमूलक शिक्षालाई जोड दिएका छौं । नन क्रेडिट कोर्षअन्तर्गत उद्यमशीलता तालिम सञ्चालन गर्यौं । विद्यार्थीलाई व्यवसायिक योजना बनाउन सिकायौं । सफल व्यवसायी बन्न प्रेरित गर्यौं । शिक्षा संकायका विद्यार्थीका लागि मन्टेश्वरी तालिम सञ्चालन गरियो । यसले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सिप पनि प्रदान गरेको छ ।

विद्यार्थीको आर्थिक अवस्था कमजोर भएर पढाइ नरोकिने वातावरण बनाउने प्रयास पनि भइरहेको छ । त्यसका लागि विभिन्न छात्रवृत्ति तथा अक्षय कोष स्थापना भएका छन् । सूर्य प्रेम अक्षय कोष, केदार मनभुजा छात्रवृत्ति कोष, मोहन वालरत्न स्मृति कोष र चन्द्रमाया छात्रवृत्ति कोष पहिले नै सञ्चालनमा थिए । पछिल्लो अवधिमा भविन्द्रमन दलित छात्रवृत्ति कोष, संस्थापक शिक्षक छात्रवृत्ति कोष, विश्व रेवती छात्रवृत्ति कोष र डम्बरकुमारी गुरुङ छात्रवृत्ति कोष थपिएका छन् ।

अब हाम्रो ध्यान बजारमुखी शिक्षातर्फ केन्द्रित छ । क्यु ए ए प्रमाणपत्र प्राप्त सामुदायिक क्याम्पसलाई बजारयोग्य कार्यक्रम सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले आह्वान गरेको छ । त्यसअनुसार आगामी शैक्षिक सत्रका लागि बिआइटी, बिबिए र बिएचएम कार्यक्रम सञ्चालनको प्रस्ताव बुझाइसकेका छौं । आवश्यक शुल्क पनि तिरिसकेका छौं ।

आज कालिका बहुमुखी क्याम्पस १४ रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ तीन प्रशासनिक तथा पुस्तकालय भवन छन् । फुटबल र बास्केटबल मैदान छन् । ३१ वटा कक्षाकोठा छन् । दुई कम्प्युटर ल्याब छन् । सभाहल, सुविधा सम्पन्न पुस्तकालय, चमेना गृह, पार्किङ र शुद्ध खानेपानी प्रणाली छन् । यी संरचना निर्माण गर्न धेरैको मिहिनेत र योगदान जोडिएको छ ।

तर अझै धेरै काम बाँकी छन् । क्याम्पसको संरचनालाई समयअनुकूल बनाउनुपर्छ । खेलमैदान व्यवस्थित गर्नुपर्छ । पर्खाल र तारजाली लगाउनुपर्छ । जग्गा व्यवस्थापन गर्नुपर्छ । सुविधा सम्पन्न कन्फ्रेन्स हल निर्माण गर्नुपर्छ । पुराना फर्निचर बदल्नुपर्छ । कक्षाकोठामा मल्टिमिडिया प्रोजेक्टर जडान गर्नुपर्छ । फ्याकल्टी डेभलपमेन्ट कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्छ । आफ्नै जनशक्ति विकास गर्नुपर्छ । विद्यार्थी उत्तीर्ण प्रतिशत बढाउनुपर्छ । ड्रपआउट दर घटाउनुपर्छ । यी सबै चुनौती हामी सामूहिक प्रयासबाट अवसरमा बदल्न सक्छौं भन्ने विश्वास मसँग छ ।

कालिका क्याम्पस आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित सामुदायिक क्याम्पसका रूपमा अघि बढिरहेको छ । यो कुनै एक व्यक्तिको उपलब्धि होइन । यो साझा सपना र सामूहिक संघर्षको परिणाम हो । सञ्चालक समिति, संरक्षक, सिनेटर, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक र शुभेच्छुक सबैको योगदानले यो यात्रा सम्भव भएको हो । यही विश्वास र सहकार्यले आगामी दिनमा पनि क्याम्पसलाई अझ उचाइमा पुर्याउनेछ ।

जय कालिका क्याम्पस ।

 

(२०८३ जेठ ८ गते आयोजित कालिका बहुमुखी क्याम्पसको सातौँ अधिवेशनमा क्याम्पस प्रमुख गौतमले प्रस्तुत गरेको प्रतिवेदनमा आधारित)